माघ १४,काठमाडौँ । आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले इक्वेडरका लागि बराबरी गोल फर्काए ।
नाटकीय रुपमा अन्त्य भएको खेलमा ब्राजिलका गोलकिपर एलिसनले दुई पटक रातो कार्डको सामना गरे पनि भिएआरले उल्टाइदिएको थियो । रातो कार्डको निर्णय उल्टिएपछि इक्वेडरले पेनाल्टीको अवसर गुमायो ।
यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलको १४ खेलबाट ३६ अंक छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।
अर्को खेलमा लिओनल मेसी बिनाको अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।
अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको दशौँ र लाउटारो मार्टिनेजले ३४ औंमिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।
ब्राजिलसंगै अर्जेन्टिना पनि यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । चिली १६ अंकसहित सातौं स्थानमा छ ।
छनोटकै अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । उरुग्वेका लागि लुइस सुआरेजले खेलको ५०औं मिनेटमा गोल गरेका थिए ।
जितपछि उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पाराग्वे १५ खेलबाट १३ अंकसहित नवौं स्थानमा छ ।