रुसी विमानमाथि अमेरिकाको प्रतिबन्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १८, बुधबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन १८,काठमाडौँ । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाएको छ । संसदलाई संबोधन गर्दै राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गरेको बीबीसीले जनाएको छ ।

रुसबाट अमेरिकाका लागि हुने केही उडानहरु यसअघि नै रद्द भैसकेका छन् । बाइडेनले हवाई क्षेत्रमा गरेको प्रतिबन्धले रुसलाई एक्ल्याउने र उसको अर्थतन्त्रमा थप दवाव पुग्ने बताएका छन्। अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसको स्वामित्वमा रहेका तथा रुसी कम्पनीद्वारा सञ्चालित विमानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको उनले बताए । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि युरोपका धेरै देशले रुसी जहाजमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

यसैबीच रुसले युक्रेनमाथि आक्रमण थप तीव्र बनाएको छ । युक्रेनको राजधानी किभमा सुरक्षा तथा प्रविधि केन्द्रहरुलाई लक्षित गरी रुसले स्थल तथा हवाई आक्रमण गरिरहेको छ । आक्रमणको निशानामा सञ्चारमाध्ययम, नागरिक, विद्यालय, अस्पताल लगायत पनि परेका छन् ।

यसअघि युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा भएको रुसी आक्रमणमा १० जना नागरिकको ज्यान गएको थियो । खार्किभ घटनालाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्ध अपराधी घोषणा गर्न माग गरेका छन्। रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसन नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध चलिरहेको लडाइँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा नगर्ने अडानबारे पुनर्विचार गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोलाई आग्रह समेत गरेका छन् । रुससँग थप वार्ताको लागि पहिलो युक्रेनमाथि आक्रमण रोकिनुपर्ने बताए । आफूहरु वार्ताको पक्षमा रहे पनि देशमा बमबारी भैरहेको बेला वार्तामा बस्न नसक्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस