बैशाख १४,काठमाडौँ । भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा ११ जनाको मृत्यु भएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा केही बालबालिका पनि छन् । तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन गएरातिदेखि दर्शनार्थीको भीड लागेको थियो । घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५० –५० हजार भारतीय रुपैयाँ दिने बताएका छन्। यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ज्यान गुमाएकाका परिवारलाई ५–५ लाख भारतीय रुपैयाँ दिने बताएका छन् ।