भाद्र ७,काठमाडौँ । साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुपदार्थ प्रयोग नगरेको पुष्टि भएको छ ।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’ को भिडियोमा उनि रक्सी खाएर रमाएको देख्न सकिन्थ्यो । त्यो भिडियोलाई लिएर उनले लागुपदार्थ पनि प्रयोग गरेको हुन सक्ने आरोप लागेपछि सोमवार उनले गराएको प्रयोगशाला परीक्षणबाट लागुपदार्थ प्रयोग नगरेको पुष्टि भएको हो ।
प्रधानमन्त्री मरिनको पिसाबको नमुनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागुऔषध नभएको निर्क्योल गर्न परीक्षण गरिएको थियो । आफूले केही रक्सी खाएको तर कुनै किसिमका लागुपदार्थ प्रयोग नगरेको प्रधानमन्त्री मरिनले शुक्रवार आफ्नो निवासमा पत्रकारहरूलाई बताएकी थिइन् । आफूले जीवनमा कहिल्यै पनि लागुपदार्थ प्रयोग नगरेको स्पष्ट गरेकी थिइन् ।
३४ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी मारिनको विपक्षीहरूले सरकारी निवासमा भोज भतेरलगायतका गतिविधि गरेकोमा यसअघि पनि आलोचना गरेका थिए ।