आश्विन २७,काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा रुसमाथिको बहसका क्रममा पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतले त्यसको आलोचना गरेको छ । भारतले पाकिस्तानको टिप्पणीलाई निरर्थक भन्दै त्यसको कडा शब्दमा आपत्ति जनाएको छ ।
रुस–युक्रेन युद्धलाई लिएर बुधवारको महासभा बैठकमा मस्कोविरुद्ध प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाकिस्तानी कुटनीतिज्ञ मुनिर अक्रमले कश्मीरको मुद्दा उठाएपछि भारतले त्यसको प्रतिवाद गरेको हो । मतदानअघि मन्तव्य व्यक्त गर्दै पाकिस्तानका कुटनीतिज्ञले रुसले युक्रेनी भू–भाग कब्जा गरेझैँ भारतले पनि पाकिस्तानी भूमि कश्मीर कब्जा गरेको आरोप अप्रत्यक्षरूपमा लगाएपछि संयुक्त राष्ट्र सङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले भारतविरुद्ध तुच्छ एवम् व्यर्थ टिप्पणी गरिएको बताए ।
जम्मु र कश्मीरको सम्पूर्ण क्षेत्र भारतको अभिन्न अङ्ग हो र त्यो सधैँ भारतमा नै रहने बताउँदै उनले पाकिस्तानलाई सीमापार आतङ्कवाद रोक्न आह्वान गरे ।
संयुक्त राष्ट्र सङ्घले चार युक्रेनी क्षेत्रलाई रुसले गाभेको निन्दा गर्न प्रस्तुत गरेको प्रस्तावमाथिको मतदानका बेला अनुपस्थित रहेको भारतले राष्ट्र सङ्घका सिद्धान्तको पालना हुनुपर्नेमा जोड दिएको छ ।
बुधवार भएको मतदानमा एक सय ४३ देशले प्रस्तावको पक्षमा आफ्नो मत दिएका थिए । भारतसहित ३५ देश भने मतदानका बेला अनुपस्थित रहेका थिए । प्रस्तावको विपक्षमा पाँच देशले मतदान गरेका थिए । यद्यपि भारतले युक्रेनमा नागरिक पूर्वाधारलाई निसाना बनाएर सर्वसाधारणको ज्यान जाने गरी द्वन्द्व बढेकामा गहिरो चिन्ता व्यक्त गरेको छ ।
युक्रेन युद्ध तत्काल अन्त्य हुनुपर्ने तथा त्यस निम्ति वार्ता र कुटनीतिको बाटोमा सम्बद्ध पक्ष अग्रसर हुनुपर्नेमा पनि भारतले जोड दिएको छ ।