कात्तिक १२,काठमाडौँ । इजरायलले गाजामा आकाश, जमिन र समूद्रबाट आक्रमण जारी राखेको छ। गाजामा मानवीय सहायतका लागि संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई खारेज गर्दै इजरायलले गाजापट्टीमा आक्रमणलाई अझै सशक्त बनाएको छ।
गाजामा युद्धविराम गरी मानवीय सहायता लैजानका लागि संयुक्त राष्ट्रसंघको आइतबारको महासभामा जोर्डनले प्रस्ताव राखेको थियो। उक्त प्रस्तावलाई नेपालसहित १२० देशले समर्थन गरेका थिए। अमेरिकासहित १४ देश उक्त प्रस्तावको विपक्षमा उभिएका थिए भने ४५ देश मतदानमा सहभागी भएनन्।
गाजामा हवाइ आक्रमण गरिरहेको इजरायलले शुक्रबारदेखि जमिन र समुद्रबाट पनि आक्रमण सुरू गरेको हो। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले यसलाई हमासविरूद्धको दोस्रो चरणको युद्ध भनेका छन्।
इजरायली सेनाहरु जमीनबाटै गाजा पट्टीमा प्रवेश गरी त्यहाँ आक्रमण गरिएको भिडिओहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले प्रसारण गरिरहेका छन्।
प्रधानमन्त्री नेतन्याहूले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा गाजा पट्टीमा शुक्रबारदेखि नै इजरायली सैनिक प्रवेश गरिसकेको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।