बैशाख ३०,काठमाडौँ । रुस र युक्रेनबिच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिले पनि यो युद्ध रोकिने कुनै सम्भावना देखिँदैन । यसैबिच, रुसी सेनाले युक्रेनका पाँचवटा गाउँ कब्जा गरेको खबर आएको छ । युक्रेनी अधिकारीहरूले यो खबरको पुष्टि गरेका छैनन् ।
युक्रेनको खार्किभ र रुसको सिमानामा विवादित ग्रे जोन छ । बोरिसिभका, ओहर्टसेवे, पिल्ना र स्ट्राइलेचा गाउँ शुक्रबार रूसी सेनाले कब्जा गरेको युक्रेनी पत्रकारलाई उद्धृत गर्दै एउटा सञ्चार माध्यमले खबर छापेको थियो । खबरका अनुसार रुसले प्लाटिनिभका गाउँलाई पनि नियन्त्रणमा लिएको दाबी गरिएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शनिबार साँझ स्ट्राइलेचा र प्लेटेनिभकाका साथै क्रास्ने, मोरोखोभेट्स, ओलिनिकोभ, लुक्यान्सी र हातिसेमा पनि लडाइँ जारी रहेको बताएका थिए । आफ्नो सेनाले दोस्रो दिन पनि बदला लिइरहेका र युक्रेनी क्षेत्रको रक्षा गरिरहेको उनको भनाइ थियो ।