अवैध बाटोबाट अमेरिका छिर्न खोज्ने नेपालीलाई मेक्सिकन सेनाले हान्यो गोली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (६ महिना अघि)
  • ११० पटक पढिएको
अवैध बाटोबाट अमेरिका छिर्न खोज्ने नेपालीलाई मेक्सिकन सेनाले हान्यो गोली

असोज १७, काठमाडौँ । अवैध बाटोबाट अमेरिका छिर्न खोज्ने समूहमाथि मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । त्यसमा नेपाली पनि परेको आशंका गरिएको छ । मेक्सिकोको रक्षा मन्त्रालयले मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरी ठाउँमा यो घटना भएको जनाएको छ । उक्त घटनामा थप १० जना आप्रवासी घाइते भएका छन् ।

मन्त्रालयका अनुसार मेक्सिकन सैनिक गस्तीमा निस्किएका बेला आप्रवासी बोकेको पिकअप गाडी तीव्र गतिमा यात्रा गरिरहेको अवस्थामा भेटिएको थियो । सेनाले उक्त गाडीलाई रोक्न खोजेको थियो । तर रोक्नबाट असफल भयो । ‘सेनाले विष्फोटको आवाज पनि सुनेको’ अधिकारीले दाबी गरेका छन् । गाडीमा सवार व्यक्तिले हतियार बोकेको आशंकामा दुई अधिकारीले गाडीमाथि गोली चलाएका थिए । सोही गोलीबाट ६ जनाको मृत्यु भएको हो । उक्त गाडीमा ३३ जना सवार रहेको जनाइएको छ ।

मेक्सिकन रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार उक्त गाडीमा सवार आप्रवासीहरू इजिप्ट, नेपाल, क्युबा, भारत र पाकिस्तानबाट आएका थिए । मृत्यु हुनेहरूको राष्ट्रियता भने प्रस्ट खुलाइएको छैन । गोली चलाएपछि खानतलासी गर्दा गाडीमा हतियार नभेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

निहत्थामाथि गोली चलाएको विषयमा मेक्सिको सरकारले आफ्नै सैनिक अधिकारीमाथि अनुसन्धान पनि गरिरहेको छ ।अवैध बाटो हुँदै अमेरिका छिर्न चाहने हजारौँ आप्रवासीहरू प्रत्येक वर्ष दक्षिण अमेरिकाबाट मेक्सिको हुँदै बसहरू, ट्रक र मालबहाक रेलमार्फत यात्रा गर्छन् । यो मेक्सिकोका लागि सबैभन्दा ठूलो चुनौती बनिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस