स्पेनका राजामाथी माटो प्रहार !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ कार्तिक १९, सोमबार (५ महिना अघि)
  • ४१ पटक पढिएको
स्पेनका राजामाथी माटो प्रहार !

कात्तिक १९,काठमाडौँ । स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडित नागरिकले दुर्व्यवहार गरेका छन् । बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले ‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका छन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको पनि प्रदर्शनकारीले बताएका छन् ।

क्रोधित बाढी पीडितहरूले राजा फिलिपलाई यस्तो त्रासदी रोक्न केही गरेका थियौ कि थिएनौ भनेर प्रश्न गरेका छन् । स्पेनमा सोमबार आएको बाढीमा परी दुई सयभन्दा बढीको ज्यान गएको छ भने कैयौं अझै बेपत्ता छन् । दुःखको यस घडीमा जनता एक अर्काको साथमा उभिएका छन् र पीडितलाई सहयोग गर्न अगाडि बढिरहेका छन् ।

आपतकालीन सेवाका कर्मचारीहरूले कार पार्किङ र सुरुङमा फसेका मानिस र शवहरूको खोजी गर्न निरन्तर काम गरिरहेका छन्। यसैबीच स्पेनका नेताहरूले बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने राजाको निर्णय गलत रहेको टिप्पणी गरेका छन् ।

भ्यालेन्सियाका संसद सदस्य जुआन बोर्डेराले राजा फिलिपको बाढी प्रभावित भ्यालेन्सियाको भ्रमण ‘धेरै नराम्रो निर्णय’ भएको बताएका हुन् ।‘जनता आक्रोशित हुनु स्वाभाविक हो, उनको भ्रमण किन महत्वपूर्ण छ भन्ने कुरा जनताले नबुझ्नु पनि अस्वभाविक होइन,’ उनले भने ।

भ्यालेन्सियाको प्रान्तीय सरकारले पनि भारी वर्षा र बाढीपछिको अवस्थालाई लिएर गम्भीर आलोचनाको सामना गरिरहेको छ । अहिलेसम्म सरकारले बेपत्ताको तथ्यांक पनि भन्न सकिरहेको छैन । स्पेनका एक मन्त्रीले मृतकको संख्या धेरै नै बढ्न सक्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस