माघ ६, काठमाण्डौँ । इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदैछ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच भएको पछिल्लो युद्धविरामको सहमति कार्यान्वयनको चरण शुरु भएको हो । पहिलो चरणमा छ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।
मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले हमाससँग ‘आवश्यक भएमा’ लडाइँ फेरि शुरु गर्ने अधिकार सुरक्षित राखेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।