माघ ११, काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । यही माघ ९ गते साँझ भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा मृत्यु भएका नेपालीको संख्या ७ पुगेको हो । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उक्त रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको नाम सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार दुर्घटनामा ४३ वर्षीया कमला नवीन भण्डारी कैलाली, ४० वर्षीय लछिराम पासी कैलाली, ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा मंगलसेन, अछाम, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीय मैसारा कामी विश्वकर्मा मंगलसेन, अछाम, ६० वर्षीय जोक्ला उर्फ कला कामी कमलबजार, अछाम र ३२ वर्षीय राधेश्याम राध डँडुवा, बाँकेको मृत्यु भएको हो । यस्तै दुर्घटनामा थप चार जना नेपाली घाइते समेत भएका छन् ।