‘सबै खालका बिचौलियाको सेटिङलाई भत्काउन सरकार सफल होस्’ : अध्यक्ष नेपाल

पौष २५,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति र समाजका समस्याहरूलाई पहिलो प्राथमिकता दिएर काम गर्न नयाँ सरकारलाई आग्रह गरेका छन् ।

आज सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले हरेक क्षेत्रमा छिटो सेवा दिने र सबै खालका बिचौलियाको सेटिङलाई भत्काउने काममा सरकार अघि बढ्नुपर्ने बताए । उनले आम मानिसको जनजीवन विकराल बनिरहेको भन्दै महँगी र कालोबजारीको समस्या समाधानमा लाग्नुपर्ने बताए । युवाको विदेश पलायनको क्रमलाई रोक्न पनि सरकारले आवश्यक भूमिका निर्वाह गर्न सक्नुपर्ने उनले उल्लेख गरे ।

अध्यक्ष नेपालले अहिलेको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको भन्दै अर्थतन्त्रको सुधार गर्न सरकारले आवश्यक काम गर्नुपर्नेमा जोड दिए । उनले बैंक ब्याज चर्को भएका कारणले आमरूपमा सबै व्यवसाय धराशायी हुने अवस्थामा रहेको बताए । सङ्कटग्रस्त अर्थतन्त्रलाई कसरी ठिक ठाउँमा ल्याउने, कृषिमा कसरी आत्मनिर्भर हुने, विदेशी पुँजीलाई कसरी नेपालमा आकर्षित गर्ने भन्नेबारेमा वर्तमान सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘राजनीति, समाजका समस्याहरूलाई पहिलो स्थान दिएर नागरिकलाई सुशासनको पहिलो प्रत्याभूति दिनु पर्नेछ । हरेक क्षेत्रमा छिटोछिटो सेवा र सबै खालका बिचौलियाको सेटिङलाई भत्काउने काममा अघि बढ्नुपर्छ । महँगी, कालोबजारी, कृत्रिम अभाव देखेर युवा बेरोजगारीको चक्रमा फसेका छन्, विदेश पलायन गर्ने क्रम बढ्दो छ । सिङ्गो अर्थतन्त्र नै सङ्कटग्रस्त अवस्थामा छ । यो अर्थतन्त्रलाई उँभो लगाउन सबैको ध्यान जानुपर्छ । मिटरब्याजी समस्या चर्कोरूपमा देखापरेको छ, यसमा सरकारको ध्यान जाओस् ।’

अध्यक्ष नेपालले नागरिकले परिवर्तनको महसुस गर्ने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।

संम्बन्धित समचार

Leave a Comment