गुल्मीमा डढेलो निभाउने क्रममा भिरमा खसेर एकको मृत्यु, एक घाइते

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा भिरमा लड्दा एक जनाको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको घर नजिकै जंगलमा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार स्थानीय सर्वोदय मावि नजिकै सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर घर्ती गम्भीर घाइते भएका थिए । भिरबाट झण्डै डेढ सय मिटर जति तल खसेका घर्तीलाई तत्काल उद्धार गरी स्थानीयले जिल्ला अस्पताल तम्घास पुर्‍याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

घर्तीसँगै भिरबाट लडेका स्थानीय ५२ वर्षीय रेसम थापा घाइते छन् । थापाको तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डढेलो निभाउने क्रममा हावा चल्दा आगोको लप्का आफूतिरै सोझिएपछि घर्ती र थापा भाग्ने क्रममा भिरबाट खसेका स्थानीयले बताएका छन् ।

संम्बन्धित समचार

Leave a Comment