माओवादीले पाउने ४ मन्त्रालय टुंगो लाग्यो

असोज १९, काठमाडौं । सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट मन्त्रालयहरुको मोटामोटी टुंगो लागेको माओवादीका एक नेताले बताए ।

‘हामीले पाउने मन्त्रालयहरुको लगभग टुंगो लागेको छ,’ ती माओवादी नेताले भने, ‘शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय हामीले पाउने भएका छौं । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि हाम्रो भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय हामीले पाउने भएका छौं ।’

यसअघि अर्थ र उर्जा मन्त्रालय पाइसकेको माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको ती नेताले बताए । देउवा र प्रचण्डबीच सोमबार मोटामोटी टुंगो लागेको भएता पनि मंगलबार शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डालाई अन्तिम रुप दिइने स्रोतले बतायो । मन्त्रालयको भागवण्डा मिलेपछि दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् । माओवादी नेता भन्छन्, ‘हाम्रो स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउनेछ ।’

 

संम्बन्धित समचार

Leave a Comment