यो वर्ष औसतभन्दा बढी वर्षा हुने आँकलन

वैशाख २४, काठमाडौं । यो बर्षको मनसुनमा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाले आउँदो १८ जेठदेखि १४ असोजसम्म कायम रहने चार महीने मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आउँदो वर्षायाममा प्रदेश १ को उत्तरी क्षेत्र, मधेश प्रदेशको अधिकांश क्षेत्र र बागमतीको दक्षिणी क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । त्यस्तै, देशका बाँकी क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत छ ।

गत ३० वर्षमा भएको वर्षाको आधारमा विभागले ३३.३ देखि ६६.६ प्रतिशतको वर्षालाई सरदर वर्षा भनेर मान्छ । विश्व मौसम संगठनको हावापानी प्रारूपको आकलन, विभागको आफ्नै हावापानी आकलनको प्रवृत्ति तथा दक्षिणएशियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा आगामी मनसुनबारे यस्तो प्रारम्भिक अनुमान सार्वजनिक गरिएको हो ।

दक्षिणएशियाली जलवायु दृष्टिकोण मञ्चको वैशाख दोस्रो साता आयोजना गरिएको बृहत् बैठकले आगामी मनसुनमा एशियाका अधिकांश भागमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो ।

गत वर्षको मनसुनमा पनि देशका अधिकांश भूभागमा सरदरभन्दा धेरै वर्षा हुने अनुमान गरिएको थियो । अनुमान अनुसार नै वर्षायाममा सरदरभन्दा धेरै वर्षा भएको थियो ।

प्राकृतिक विपत्तिको जोखिम रहेको नेपालमा सरदरभन्दा बढी वर्षा हुँदा बाढी, पहिरो, डुबानको जोखिम बढ्ने सम्भावना हुन्छ। हरेक वर्ष नेपालमा वर्षायाममा यस्ता विपत्तिका कारण सयौंले ज्यान गुमाउने गरेका छन् ।

विभागका अनुसार आगामी मनसुनको अवधिमा देशको उत्तरी भूभाग र मधेश प्रदेशका धेरै क्षेत्रमा अधिकतम तापक्रम सरदर जस्तै रहने सम्भावना छ । अन्य स्थानमा सरदरभन्दा कम रहने सम्भावना देखिएको विभागले जनाएको छ । विभागका अनुसार अन्य स्थानमा सरदरभन्दा कम अधिकतम तापक्रम रहने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

संम्बन्धित समचार

Leave a Comment