राष्ट्र बैँकको नयाँ तथ्याङ्क: देशको अर्थतन्त्र सुधार हुँदा के–के भयो प्रगति ?

माघ २३,काठमाडौँ । अर्थतन्त्रका सूचकहरू सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सोमवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधनान्तर बचत, विदेशी विनिमयको सञ्चिति, रेमिट्यान्स लगायतका सूचकमा सुधार भएको छ ।

छ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको छ महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै गएको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति अहिले १० प्रतिशतले बढेर १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा आठ प्रतिशतले बढेर १० अर्ब ३० करोड डलर कायम भएको छ । यो रकम १० महिना चार दिनको वस्तु आयात र नौ महिना एक दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । ।

यस्तै चालु खातामा पनि सुधार आएको छ । पुस मसान्तसम्म चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको छ महिनामा चालु खाता तीन खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

प्रत्यक्ष वैदेशिक लगानीमा भने ठूलो गिरावट आएको छ । अघिल्लो वर्षको छ महिनामा ११ अर्ब रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा अहिले ७४ करोड ९४ लाख रुपैयाँमात्रै आएको छ ।

संम्बन्धित समचार

Leave a Comment