गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन पौडेलको आग्रह

चैत्र २४, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आजदेखि सुरु २२औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको बुटवलमा उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सम्बद्ध निकायको कमजोरीका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए । उनले कमजोरी सुधार गरेर विमानस्थल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

उनले रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनामा जनताको निगरानी महत्वपूर्ण भएको जनाउँदै ती योजनाको निर्माणमा भएका कमजोरी तथा ढिलासुस्तीमा खबरदारी गर्न आग्रह गरे । उनले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल पनि सञ्चालन आउने बताए । उनले सम्पन्न भएका सबै आयोजनालाई सञ्चालनमा ल्याएर यहाँको होटल व्यवसाय, पर्यटन, उद्योग तथा सम्पूर्ण आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए ।

पौडेलले लुम्बिनी प्रदेशको राजधानीको विषयलाई अब छलफलको विषय नबनाउन आग्रह गरे । राजधानीकै कारण रुपन्देही पछि नपर्ने उल्लेख गर्दै उनले बरु यहाँका उद्योगी व्यवसायीले अब कसरी अघि बढ्ने भनी बहस चलाउन आग्रह गरे ।

संम्बन्धित समचार

Leave a Comment