ओली-प्रचण्ड भेटवार्ता

वैशाख ७, काठमाडौं । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच अविश्वास चुलिँदै गइरहेका बेला मन माझामाझ गर्ने प्रयासस्वरूप ओली–दाहालको भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच शनिबार बिहान ११ बजेदेखि झन्डै अढाई घण्टा कुराकानी भएको थियो । नेकपाभित्र दुई अध्यक्षबीच चर्किएको अन्तरसंघर्षले सत्तारुढ दलका नेता–कार्यकर्ताबीच धु्रवीकरण बढ्दै जान थालेको छ ।

पार्टीभित्र देखा परेको शक्ति संघर्ष, वामदेव प्रकरणदेखि स्वास्थ्य सामग्री खरिद प्रकरण र सर्वदलीय संयन्त्रसम्मका विषयले दुई अध्यक्षबीच प्रतिदिन अविश्वास झांगिँदै गएको थियो । यही विषयमा खुलेरै कुराकानी गर्ने र विश्वासको वातावरण निर्माणका लागि दुवै अध्यक्षले एक्लाएक्लै छलफल आवश्यक महसुस गरेका थिए ।

२६ चैतको सचिवालय बैठकमा समेत नेताहरूले दुई अध्यक्षलाई छलफल बाक्लो बनाउन र आपसी विश्वासको वातावरण निर्माणका लागि सुझाव दिएका थिए । तर त्यसयता ओली र दाहालबीच छलफल भएको थिएन। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर फर्केदेखि नै ओली–दाहाल दुवैले एक्लाएक्लै छलफल गरी देखिएका समस्याका विषयमा खुलेर कुराकानी गर्ने निचोड निकालेका थिए । त्यसैको सुरुवातीका रूपमा शनिबारको छलफल भएको बालुवाटार स्रोतको भनाइ छ ।

ओली र दाहालको ४ मंसिरमा कार्यविभाजन भएयता नै सम्बन्धमा खटपट देखिँदै आएको थियो । दाहालले पूर्व एमाले समूहभित्र खेलेर आफूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै ओली दाहालसँग असन्तुष्ट छन् भने दाहाल ओलीले सरकार सञ्चालन एकलौटी गरेको र पार्टीमा पनि आफूलाई सहज काम गर्न असहज पार्न खोजेको भन्दै सन्तुष्ट हुन सकिरहेका छैनन् ।

सत्तारुढ दलका पछिल्ला निर्णयमा समेत ओली–दाहालबीच मत मिल्न नसक्दा पार्टीभित्रको विवाद झांगिँदै गएको छ । ‘उहाँहरूबीच झन्डै अढाई घण्टाजति कुराकानी भएको छ तर छलफलका विषय दुई अध्यक्ष मात्रको भेटवार्ता भएकाले जानकारी हुन सकेको छैन’, दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले भने । अन्नपूर्णपोष्टबाट

संम्बन्धित समचार

Leave a Comment