प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसको साथ

माघ २०, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूह प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा एक ठाउँ देखिएका छन् । तर, सरकार ढालेपछिको समीकरणबारे भने उनीहरूबीच ठोस सहमति बनेको छैन । ओली समूहका मुख्यमन्त्री रहेका बागमती प्रदेश र प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । नेकपा विवादपछि दुवै प्रदेशमा सत्ता–समीकरणमा कांग्रेस निर्णायक अवस्थामा छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सभामा ओली समूहलाई एक्ल्याउने गरी कांग्रेससँग सहमति भएको खुलासा गरेका छन् । सोमबार बसेको नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले आइतबार मात्रै त्यस्तो सहमति भएको खुलाएका हुन् । ‘प्रदेश सभामा ओली गुटलाई एक्ल्याउने गरी हिजो मात्रै कांग्रेससँग सहमति भएको छ,’ प्रचण्डले बैठकमा भनेका थिए, ‘अब दुवै प्रदेशमा अविश्वासको प्रस्ताव पारित हुन्छ ।’

प्रचण्डले भने जसरी कांग्रेसले भने औपचारिक निर्णय गरिसकेको छैन । सुरुमा प्रदेशमा अविश्वासको प्रस्ताव पारित गर्ने र त्यसपछि दुवैतिर बार्गेनिङ गर्ने कांग्रेसको रणनीति छ ।

नेता कृष्णप्रसाद सिटौला भने अविश्वासको प्रस्ताव पारित गर्नु प्रतिपक्षी दलको धर्म भएको बताउँछन् । ‘हामी सबैले अविश्वासको प्रस्ताव पारित गर्नुपर्छ भनेका छौँ । अब सभापतिज्यूले के गर्नुहुन्छ रु सत्तारुढ दलभित्रैबाट अविश्वासको प्रस्ताव आएको छ, त्यसलाई पास गर्नु त प्रतिपक्षको धर्म नै हो । यो सर्वमान्य नीति पनि हो । हामी सबै केन्द्रीय सदस्यले सभापतिज्यूलाई त्यही सुझाब दिएका छौँ,’ सिटौलाले भने, ‘सम्भवतः त्यही हुन्छ ।’

नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले अविश्वासको प्रस्ताव पारित गर्ने विषयमा कांग्रेससँग तहगत रूपमै छलफल भएको बताइन् । ‘केन्द्रमा पार्टीका अन्य नेताहरूले र प्रदेशस्तरमा हामीले पनि संवाद ग¥यौँ, पछिल्लो संवादमा उहाँहरूसँग अविश्वासको प्रस्तावमा साथ दिने कुरामा सहमति भएको थियो, कांग्रेसका सभापतिज्यू स्वयंले पनि प्रतिगमनको पक्षमा साथ दिनुहुन्न भनेर अविश्वासको प्रस्ताव पारित गर्ने सहमति भएको हो, सरकारमा पनि सँगै जान सकिन्छ भन्नेसम्मको कुराकानी भएको थियो,’ उनले भनिन् ।

सत्ता–साझेदारीको विषयमा भने फरक समझदारी हुने सिटौला बताउँछन् । ‘अविश्वासको प्रस्ताव गर्दा वैकल्पिक मुख्यमन्त्री उहाँहरूले प्रस्ताव गरेकै मान्छे रहनुहुन्छ, तर विश्वासको मत लिने वेलामा एउटा समझदारी बनाउने कुरा हो । अहिलेसम्म सत्तारुढ पार्टी एउटै छ, त्यो पार्टीको मुख्यमन्त्रीविरुद्ध त्यही पार्टीका सभासद्ले अविश्वासको प्रस्ताव लिएर आएका छन्, कांग्रेसले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ, सरकारमा साझेदारीको विषयमा फेरि छलफल होला,’ सिटौलाले नयाँ पत्रिकासँग भने, ‘अहिलेसम्म अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढेको छैन, उहाँहरूको पार्टी पनि फुटेको छैन, त्यसैले अहिले सरकार बनाउने विषय गौण हो ।’

कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महत भने अहिलेसम्म कोहीसँग पनि सहमति नभएको दाबी गर्छन् । ‘उहाँहरूको आन्तरिक झगडा हो, उहाँहरूको पार्टी एउटै हो, फेरि मिल्ने कुरा पनि हुन सक्छ, हामी किन हतारिने रु’ महतले भने, ‘अहिले कुनै पक्षसँग पनि सहमति भएको छैन, विभिन्न प्रस्तावहरू आएका छन्, छलफल भएको छ, तर हामीले हाम्रो निर्णय आवश्यक परेको समयमा निर्णय लिन्छौँ ।’

कांग्रेसको बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँ भने पार्टी केन्द्रको निर्णय कुरेर बसेको बताउँछन् । ‘कुनै निर्णय भएको छैन, कि अधिकार देऊ, कि निर्णय देऊ मैले केन्द्रलाई यही भनेको छु,’ उनले भने । नयाँ पत्रिका

संम्बन्धित समचार

Leave a Comment