पीएसजीले ब्रुग्ससंग १–१ गोलको बराबरीमा चित्त बुझाउँदै अंक बाँड्यो

भाद्र ३१,काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ खेल भएका छन् । उक्त खेलमध्ये सबैभन्दा बहु प्रतिक्षित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को खेललाई महत्वका साथ हेरिएको थियो । किनकि पीएसजीबाट एकैपटक मैदानमा हेभिवेट खेलाडीहरु लियोनल मेसी, नेयमार र केलियन एम्बाप्पे उत्रिएका थिए ।

तर पीएसजीले बेल्जियन क्लब ब्रुग्ससंग १–१ गोलको बराबरीमा चित्त बुझाउँदै अंक बाँड्यो । ब्रुग्सको मैदानमा खेलमा अग्रता पीएसजीले नै लियो । आन्द्रे हेरेराले गोल गरे । एम्बाप्पेको पासलाई सदुपयोग गर्दै हेरेराले पीएसजीलाई अग्रता दिलाएका थिए ।

त्यसको १२ मिनेटपछि ब्रुग्सका लागि हन्स भानाकेनले बराबरी गोल फर्काए । च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहित स्पेनिश क्लब बार्सिलोना छाडेर आएका अर्जेन्टाइन छ पटकका बालोन डे’ओर विजेता मेसीलाई यसैसिजन आवद्ध गरेको पीएसजी पहिलो खेलमै बराबरीमा रोकिएको हो ।

मेसीले गोलका लागि प्रयास भने राम्रो गरेका थिए । दुर्भाग्य उनले प्रहार गरेको बल बारमा लागेर फर्किन पुग्यो । उनको पीएसजीको च्याम्पियन्स लिग डेब्युमा गोलले स्वागत गरेन ।

 

संम्बन्धित समचार

Leave a Comment