संसदका दुवै सदनको बैठक बस्दै

जेठ २४, काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । विहान साढे ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । हिजोको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।

यस्तै राष्ट्रिय सभा बैठक पनि आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन,२०७७/०७८, लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ पेश गर्नु हुने छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन,२०७६/०७७ र २०७७/०७८ तथा थारु आयोगको वार्षिक प्रतिवेदन,२०७७/०७८ पेश गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

यस्तै, प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख अग्नि सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन् ।

संम्बन्धित समचार

Leave a Comment