टेलिकम कम्पनीले दुई सयसम्म ब्यालेन्स सापटी दिन पाउने, कसरी लिने ?

चैत्र ११, काठमाडौँ । दूरसञ्चार कम्पनीहरुले आफ्ना ग्राहकलाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने भएका छन् । हाल नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई बढीमा २० रुपैयाँसम्म ब्यालेन्स सापटी दिंदै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई सहज बनाउन यो सापटीको सीमा बढाउन दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुनै थप शुल्क वा ब्याज लिन नपाउने गरी दूरसञ्चार कम्पनीहरुले उपभोक्तालाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

उनका अनुसार अनलाइनमार्फत सञ्चालक समितिको बैठक बसी बैठकको निर्णय कार्यान्वयनको लागि दूरसञ्चार कम्पनीहरुलाई पत्र पठाइसकिएको छ । यस्तै, दूरसञ्चार कम्पनीहरुले प्रयोगकर्ताको लागि अहिले चल्तीमा रहेका दरभन्दा कम हुने गरी विभिन्न डाटा प्याकेज घोषणा गर्न सक्ने खनालले जानकारी दिए । यसको लागि प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था सञ्चालक समितिले गरेको छ ।

यसअघि सेवा प्रदायकहरुले कुनै डाटा वा भ्वाइस प्याक बनाउनु अघि प्राधिकरणबाट स्वीकृत गर्नुपर्ने व्यवस्था थियो । ‘कोरोना संक्रमण रोक्न उपभोक्ताहरु घरघरमा बसेको बेला सहजताको लागि एक महिनासम्म सस्तो डाटा प्याकेजहरु घोषणा गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो,’ अध्यक्ष खनालले भने ।

यो बेलामा दूरसञ्चार कम्पनीहरुले ग्राहकलाई अतिरिक्त भार नपर्ने र सस्तो दरमा सेवा उपलब्ध गराउने गरी अन्य डाटा तथा भ्वाइस प्याकहरु उपलब्ध गराउन पनि प्राधिकरणको पूर्व स्वीकृति आवश्यक नपर्ने उनले बताए । यो अवस्था लामो समयसम्म रहे अन्य उपाय अवलम्बन गर्न पनि प्राधिकरणले छलफल गरिरहेको उनले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Comment