कृष्णनगरमा झाडापखालाको प्रकोप, दुईको मृत्यु, दुई सयबढी बिरामी

असोज २०, कपिलवस्तु । जिल्लाको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलिएको छ । झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय भन्दा धेरै बिरामी परेका छन् । कृष्णनगर नगरपालिकाको ७, ८ र ९ नम्बर वडाका विभिन्न गाउँमा विगत दुई दिनदेखि झाडापखालाको प्रकोप फैलिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

झाडापखालाबाट वडा नम्बर ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं. ९ का ५ वर्षीय बालक राज कश्यपको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिए । कश्यपको स्थानीय क्लिनिक र केबटको उपचार अभावमा आफ्नै घरमा मृत्यु भएको स्थानीयले बताएका छन् ।

नगरपालिका क्षेत्रको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला महामारीको रुपमा फैलिएको छ । गाउँगाउँमा झाडा पखालाका बिरामी बढ्न थालेपछि कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य टोली परिचालन गरेको छ ।

झाडापखालाबाट ग्रसित ५० भन्दा धेरै बिरामीको स्थानीय शिवराज अस्पताल बहादुरगंजमा उपचार भइरहेको स्वास्थ्य संयोजक भट्टराइले बताए । गम्भीर अवस्थाका २३ जनालाई थप उपचारका लागि बुटवल र भैरहवा रेफर गरिएको छ  । सात जना बिरामीका जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।

झाडापखालाको कारण खुलेको छैन । ‘गाउँगाउँमा महामारीको रुपमा झाडापखाला के कारणले फैलियो हामी कारण खोजिरहेका छौँ,’ संयोजक भट्टराईले भने । बिरामीमा बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने र कमजोरी हुने लक्षण देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

ल्याब परीक्षण नभएसम्म यकिन भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । स्वास्थ्य कार्यालयले फरक(फरक ठाउँका ५ जना बिरामीको दिसा परीक्षणका लागि तौलिहवा अस्पताल पठाएको छ । ‘त्यसको रिपोर्ट आएपछि मात्र झाडापखाला फैलिनुको वास्तविक कारण थाहा हुन्छ,’ पाण्डेले भने ।

संम्बन्धित समचार

Leave a Comment