बाहिरिदै मनसुन, ठूलो पानी नपर्ने

असोज २३, काठमाडौँ । नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन थालेको हो ।

लुम्बिनीका पश्चिमी भूभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ । विभागका अनुसार आगामी केही दिनमा देशका अन्य भूभागबाट पनि मनसुन बाहिरिनेछ ।

‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन,’ महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही पछाडी सरेको छ ।’

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना पनि छ ।

मौसमविद्का अनुसार अपराह्नपछि काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ । यद्यपी सम्भावना निकै न्यून छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको पहाडी भेगमा मौसम आंशिक (आकाशको थोरै भागमा बादल, बाँकी खुला) देखि सामान्य (धेरै बादल, थोरै खुला) बदली छ भने तराई क्षेत्रका धेरैजसो स्थानमा मौसम सफा छ, आंशिक रूपमा मात्र बादल लागेको छ ।

संम्बन्धित समचार

Leave a Comment