सीसीएमसी बैठक बस्दै, नाका कडाई र हवाई उडानबारे निर्णय गर्ने

मंसिर १२, काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणको पूवतयारी गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा कोभिडको ‘ओमिक्रोन’ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय हवाई उडानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ । त्यस्तै कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम लागु गर्ने तथा विमानस्थलमै एन्टिजेन परीक्षण अनिवार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।

दक्षिण अफ्रिकामा देखिएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए ।

संम्बन्धित समचार

Leave a Comment