नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन

पुस १८, काठमाडौं । आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ ओटा कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले आँधिखोला लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स, आरएमडीसी लघुवित्त वित्तीय संस्था र सिद्धार्थ बैंकको मूल्य समायोजन गरेको हो । यी चारै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन गरेको हो । जसअनुसार आँधिखोला लघुवित्तको १९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३९०.७६ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ४६५ रहेको थियो । यस्तै, कम्पनीको पाँचौ वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा होटल गाँउवेशीको सभाहल वालिङ ८ स्याङ्जामा गर्ने जानकारी दिएको हो ।

त्यस्तै, नेप्सेले सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. ३८२ दशमलव शून्य ८ तोकेको छ । अघिल्लो कारोबार दिन कम्पनीको शेयर प्रतिकित्ता रू. ४११.५० थियो ।

सेन्ट्रल फाइनान्सले हाल कायम चुक्तापूँजीको ७.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ३.३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले पुस ३० गते आफ्नै केन्द्रिय कार्यालय, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा २५ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

त्यसैगरी, नेप्सेले आरएमडीसी लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार १४३.३३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३७२ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

आरएमडीसी लघुवित्तले लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे, अमृतभोग क्याटरिङ, कालिकास्थानमा २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९कर सहित० गरी २५ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यसैगरी, नेप्सेले सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४०६.१३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य ४६४ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ३० गते सिल्भर ओक बैङक्वेट, गैह्रिधारा, काठमाडौंमा २०औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

संम्बन्धित समचार

Leave a Comment