प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसदमा टेबुल हुने

फागुन ४, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ । एमसीसी सम्बन्धी प्रस्ताव भने कार्यसूचीमा राखिएको छैन ।

कार्यसूचीमा एमसीसी नपरेपनि कांग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौता आज संसद्‌मा टेबल हुने बताएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने प्रतिबद्धता समेत दिइसकेको जानकारी दिए ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

बैठकको कार्यसूची तयार गर्नका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । बैठकले संसदमा एमसीसी टेबुल गर्नेबारे आजको कार्यसूचीमा थप गर्ने सम्भावना छ ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको बैठक पनि अवरोध गर्ने जानकारी दिए । सरकारले प्रमुख प्रतिपक्षीलाई सहमतिमा ल्याउने भन्दा पनि पूर्ण रुपमा वेवास्ता गर्दै अघि बढेको एमालेको आरोप छ ।

आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरी सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।

संम्बन्धित समचार

Leave a Comment