गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: क्लालिब्रेशन फ्लाइटको प्रारम्भिक प्रतिवेदन सकारात्मक

फागुन १७, काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको क्लालिब्रेशन फ्लाइटको प्रारम्भिक प्रतिवेदन सकारात्मक पाइएको छ । एरो थाईको विशेष जहाजले गत फागुन ६ देखि १५ गतेसम्म कूल १० दिन क्यालिब्रेशन उडान गरेको थियो । उक्त उडानका क्रममा विमानस्थलमा जडान भएका उपकरण र बत्ती लगायतले सही ढङ्गले काम गरेका छन् कि छैनन् भनेर परीक्षण गरिएको थियो । उडानमा रहेको जहाजको उचाइ, दूरी, मार्ग तथा उडान र अवतरण गर्दा धावनमार्गमा जडित बत्ती (लाइट), सञ्चारसँग सम्बन्धित उपकरणको परीक्षण भएको विमानस्थलले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्ने जनाइएको छ । निगमको वाइड बडी ‘ए’ ३३० जहाजले परीक्षण उडान गरिनेछ । आइकाओको सर्टिफिकेशन सकेर व्यावसायिक उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ । वैशाख १ गते ‘नयाँ वर्षमा नयाँ विमानस्थल’ थिमसहित विमानस्थलमा परीक्षण उडान हुने र जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ ।

रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी सम्पन्न भयो भन्ने दरिलो सन्देश पनि पेस गरेको छ, भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । राष्ट्रिय गौरवका अन्य आयोजना समस्याग्रस्त बनिरहेका बेला गौतमबुद्ध विमानस्थको निर्माण प्रगति अन्य आयोजनाका निम्ति पनि उदाहरण बन्न पुगेको हो । रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न गरेको यो विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का नवनियुक्त महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए । उनले समस्याग्रस्त अवस्थामा रहेको आयोजनाले निर्माण सम्पन्न मात्रै भनई नागरिक उड्डयन इतिहासमा उदाहरणीय बनेको बताए । उनले भने, “रुग्ण अवस्थामा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कसरी सफल भयो । नेपालमा जहाज अवतरण भएको ७४ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भर्जिन रनवे’ मा जहाज अवतरण भयो । यो नेपालको एभिएशनमा अर्को उदाहरण हो । आश मारिसकेको परियोजना कसरी सफल भयो भन्ने दरिलो उदाहरण पनि बनेको छ ।”

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ । अब दोस्रो चरणको टर्मिनल भवन निर्माण पनि छिट्टै सुरु गरिनेछ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल काठमाडौं विमानस्थलकै क्षमताको हुनेछ । जहाँ सबै प्रकारका जहाज उडान अवतरण गर्न सक्नेछन् ।

गौतमबुद्ध विमानस्थबाट नारायणी पश्चिम जिल्लाका नागरिकलाई बढी लाभ लिन सक्नेछन् । काठमाडौं विमानस्थलमा जुन ‘क्याटोगोरी’ का जहाज उड्छन् सोही प्रकृतिका जहाज गौतमबुद्धमा उड्ने बताउँदै महानिर्देशक अधिकारीले बुद्धको जन्मभूमिमा कनेक्शन र कनेक्टिभिटीलाई ध्यान दिएर विमानस्थल निर्माण गरिएको उल्लेख गरे ।

संम्बन्धित समचार

Leave a Comment