आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

बैशाख १५, काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो । आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट आज दिउँसो ३ बजे भैरहवाका लागि उड्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किने प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णले जानकारी दिए ।

विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत २६० जनाको टोली जानेछ । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षा लगायतका बारे जानकारी लिनेछ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्‍याएको छ ।

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै आजदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए । प्राधिकरणले रात्रिकालीन उडान योग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ ।

‘तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौँ, यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ’, महानिर्देशक अधिकारीले भने ।

अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ । ‘अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४ सै घण्टा चल्छ’, उनले भने ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ। यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ । विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४२० उडान भइरहेको छ । अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन । हामीले सेवा दिन सक्दैनौँ भन्नुपर्ने अवस्था छ ।’

नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन् । नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ । छिमेकी मुलुक भारत र चीन तथा एशिया प्रसान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन् । पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन् ।

वार्षिक कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ ।

यस्तो छ एयरलाइन्सको तयारी
प्राधिकरणले तराईका रात्रिकालीन उडानयोग्य विमानस्थल राति १२ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै आन्तरिक उडानमा सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान विस्तारको तयारी थालेका छन् । उडान तालिका थप्दा यात्रुको सङ्ख्या कति रहने र उनीहरूलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा छलफल गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले प्राधिकरणको निर्णयले नियमितसँगै चार्टर्ड उडान गर्न चाहनेका लागि सहज हुने बताए ।

‘उडानअवधि बढाउनु स्वागतयोग्य हो, यसलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ । रात्रिकालीन उडान गर्ने जहाजलाई ल्यान्डिङ, पार्किङलगायतमा सहुलियत गरेर प्रोत्साहित गर्ने तथा यात्रुको सुविधालाई ध्यान दिन सकिए फलदायी हुन्छ’, प्रवक्ता बर्तौलाले भने ।

अहिले सामान्यतायः ८ देखि ९ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने गरेको छ । रात्रिको समयमा यात्रु कम पाउने भए पनि दिउँसो प्रतिकूल मौसम, उडान ढिलालगायत कारणले उडान समयमै नभएका यात्रुका लागि उपयोगी हुने कम्पनीको विश्वास छ । विमानस्थलबाट यातायातको सहजता बढाउन र यात्रुको सुरक्षालाई ध्यान दिनसकिएको खण्डमा रात्रिकालीन उडान प्रभावकारी हुने एयरलाइन्सको भनाइ छ ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरलले रात्रिकालीन उडानका लागि एयरलाइन्स तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि तयारी गरिनुपर्न भनाइ छ । बुद्धएयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले प्राधिकरणको रात्रिकालीन उडान विस्तार गर्ने निर्णय सकारात्मक भएको र यसले आन्तरिक उडानलाई थप सहज हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले राति १० बजेसम्म उडान गरिरहेका छौँ, १२ बजेसम्म उडान गर्दा एयरलाइन्सन र यात्रु दुवैलाई सहजता हुन्छ, त्यसका लागि आवश्यक सुरक्षा, यातायातलगायतको प्रबन्ध जरुरी छ ।’

एयरलाइन्सको अनुभवमा अहिले पनि रात्रिकालीन उडानमा यात्रुको ‘मुभमेन्ट’ राम्रो छ । तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्जबाट यात्रु बढी नै पाइने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाई सेवा प्रदायकले उडान भर्दै आएका छन् ।

संम्बन्धित समचार

Leave a Comment