छाङरु र तिङ्कर जोडने ४६० मिटर गोरेटो बन्यो, भदौभित्रै पूरा हुने

भाद्र १६, दार्चुला । नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्रयाक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छाङरु र तिङ्करका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छाङरु र तिङ्करका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ । व्यासको छाङरुमा ११७ र तिङ्करमा ८७ घरधुरीको बसोबास छ । अहिले २६ ठाउँमा विस्फोट गर्न प्वाल बनाइएको छ । उक्त क्षेत्रमा अहिलेका लागि गोरेटो बाटोमात्र खोले पनि सरकारले दीर्घकालीन रुपमा सडक निर्माण गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयअनुसार खलंगादेखि घाँटीबगर ६५ किलोमिटरमा तिङ्कर सडक योजना र घाँटीबगर–तिङ्कर भञ्ज्याङसम्मको ८७ किलोमिटर सडकखण्ड सेनालाई निर्माणको जिम्मा दिइएको छ ।

पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ का कारण सीमा नाका बन्द हुँदा त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न पाएका छैनन् । व्यासको छाङरु र तिङ्करमा बस्ने नेपालीलाई सदरमुकाम खलंगा कुञ्चा सर्नका लागि पनि घोरेटो बाटो निर्माण आवश्यक भएको व्यास गाउँपालिका वडा नं १ का सचिव विनोदसिंह बुढाथोकीले बताए ।

संम्बन्धित समचार

Leave a Comment