मायादेवी मन्दिरमा साँझ बिहानको नित्य पूजा सुरु

भाद्र १८, भैरहवा । लुम्बिनीस्थित मायादेवी मन्दिरमा नित्य पूजा सुरु भएको छ । मन्दिरमा बिहान ढोका खोल्नु अगाडि र साँझ ढोका बन्द गर्नु अगाडि पूजापाठ गर्ने परम्पराको आज भाद्र पूर्णिमाको अवसर पारेर शुरुवात गरेको लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले बताए । धूप, दीप, जल अर्पण गरी त्रिरत्न वन्दना, परित्राण पाठ लगायतका कार्य गरी नियमित पूजा आयोजना गरिने कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । लुम्बिनी गुरुयोजना क्षेत्रमा रहेका विभिन्न विहारका भिक्षु भिक्षुणीहरुले हरेक दिन आलोपालो गरी नियमित पूजा सञ्चालन गर्ने उनले जानकारी दिए ।

मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भको छेउमा पूजा सञ्चालन हुनेछ । पूजा सञ्चालनका लागि पूर्वी विहार क्षेत्रबाट नेपाल परम्परागत बुद्ध धर्म संघका भिक्षु वजीर एवं पश्चिमी विहार क्षेत्रबाट सिंगापुर टेम्पलका लामा टासीले समन्वय गर्ने जनाइएको छ । हरेक दिन बिहान र बेलुका ६ बजे पूजा सञ्चालन गरिनेछ। पूजा सञ्चालनका लागि विकास कोषले भिक्षु भिक्षुणीका लागि सेनिटाइजेसनको व्यवस्था गर्नेछ । साथै पूजा थाली, जल पात्र, धूप, दीप, फूल र प्रसादको व्यवस्था पनि कोषले गर्ने जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Comment