कोभिडको ‘ओमिक्रोन’ भेरिएन्ट: नेपाल कतिको जोखिममा ?

मंसिर ११, काठमाडौं । दक्षिण अफ्रिकामा हालै भेटिएको कोभिड–१९ को नयाँ (ओमिक्रोन) भेरियन्ट बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरुले बताएका छन् । अहिलेसम्मकै खतरनाक भेरिएन्ट मानिएको बेला विश्व स्वास्थ्य संगठनले आपतकालीन बैठक बसेर यसलाई ‘भ्यारिएन्ट अफ कन्सर्न’भनेर व्याख्यासमेत गरिसकेको छ ।

यो भेरियन्ट देखा परेपछि, विश्वका धेरै देशहरूले दक्षिण अफ्रिकाबाट यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । विश्वले दक्षिण अफ्रिकी देशहरूको आवतजावतमा प्रतिबन्ध लगाइसकेको छ । डब्ल्यूएचओले नोभेम्बर २४ मा दक्षिण अफ्रिकाबाट यस प्रकारको पहिलो केसको बारेमा जानकारी प्राप्त गरेको थियो । यसबाहेक, यो भेरियन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पहिचान गरिएको छ ।

यसरी झनै आक्रमक मानिएको र डब्ल्यूएचओले समेत ‘भ्यारिएन्ट अफ कन्सर्न’ भनेर व्याख्या गरेको भेरिएन्ट देखिएपछि नेपालमा पनि जोखिम बढ्दै गएको बताइएको छ । जोखिम बढेसँगै सरकारले अब अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुहरूलाई विशेष निगरानी गर्न सुरु गरिसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ भेरिएन्ट देखिएको अफ्रिकी मुलुकमा नेपालको सिधा हवाई उडान नभए पनि ती बाहेकका मुलुकहरुमा पनि यो भेरिएन्टको केस देखिएको हुँदा बाहिरबाट आउनेलाइ उच्च निगरानीमा राख्न सुरु गरिएको मन्त्रालयका प्रवक्तासमेत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए ।

‘भेरियन्ट भेटिएको मुलुकसँग सिधै हवाई उडान नभए पनि अन्य मुलुक भएर त्यहाँका नागरिकहरू नेपाल आउन सक्ने हुदाँ नयाँ भेरियन्ट नेपाल भित्रिने उच्च जोखिम रहेको छ’ उनले भने ।

हङकङबाट आउनेलाई अनिवार्य क्वारेन्टाइन
ओमिक्रोन भेरिएन्टका केही संक्रमित हङकङसमेत भेटिएको हुँदा सरकारले अबदेखि हङकङबाट आउनेहरूका लागि अनिवार्य क्वारेन्टाइन र परीक्षण गर्ने निर्णय भएको डा. पौडेलले बताए । ‘हङकङमा ओमिक्रोन भेरिएन्टका केही केस भेटिएको छ, त्यसैले अबदेखि त्यहाँबाट आउनेहरुको लागि अनिवार्य होटल क्वारेन्टाइन र परिक्षणका साथै परिक्षणमा कोरोना पोजेटिभ देखिए जिन सिक्वेन्सिङ गर्ने छौं‘ उनले भने ।

यस्तै, भोलि बस्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सिसिएसी) बैठकमा नयाँ भेरिएन्टको जोखिमबाट सतर्कत हुने अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेसमेत डा. पौडेले बताए ।

संम्बन्धित समचार

Leave a Comment