‘मह’ जोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त

मंसिर २९,काठमाडौँ । देशको हास्य व्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि ‘मह’ जोडीको रूपमा चिनिनुभएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा हिजो मङ्गलवार आयोजित एक कार्यक्रममा योसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे ।

कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीको सहभागिता रहेको कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेकी थिइन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्य व्यङ्ग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताए । उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आम नागरिकलाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरहरूको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरे ।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशको लगानी भएको, देशकै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ब्रान्ड एम्बेसडर हुन पाएकोमा आफूहरूले गौरवान्वित महसुस गरिरहेको बताए ।

यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्रान्ड प्रवद्र्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी काम गर्नेछन् । अहिले एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment