आजदेखि कोभिडविरुद्धको ‘बुस्टर डोज’ लगाइँदै

माघ २, काठमाडौँ । सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिनेलाई आजदेखि र ६० वर्षदेखि माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ । यसका लागि आवश्यक व्यवस्था गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई विभागले पत्र काटेको छ ।

मन्त्रालयका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् । यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने स‌घ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइनेछ ।

आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप लगाउने तयारी छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्छन् ।

संम्बन्धित समचार

Leave a Comment