प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

माघ २६, काठमाडौं । प्रतिनिधिसभाको आज (बुधबार) बोलाइएको बैठक पुनस् एक साता सरेको छ । संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको बैठक स्थगित भएको उल्लेख गरिएको छ । स्रोतका अनुसार मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु एकमत नभएकाले प्रतिनिधिसभाको बैठक सारिएको स्रोतको दावी छ ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।

संम्बन्धित समचार

Leave a Comment