निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै

असार १३, काठमाण्डौ । कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप चार हजार ९१४ जना सङ्क्रमित निको भएका छन् भने दुई हजार १६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणबाट निको हुने दर ९१ दशमलव ९ प्रतिशत छ । विज्ञहरूका अनुसार कोरोना निको हुने दर नेपालमा उच्च छ ।नेपालमा हालसम्म छ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ भने पाँच लाख ८१ हजार ३२७ जना सङ्क्रमित निको भएका छन् ।

हाल देशभर ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा चार हजार ७०४ जनाको पीसीआर र चार हजार ८०६ जनाको एन्टिजेन गरी कुल नौ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । काठमाडौँमा १८१, भक्तपुरमा २५ र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा थप २४९ जना सङ्क्रमित थपिएका छन् । यस्तै देशभरका कोरोना अस्पतालका आईसीयूमा ७३४ र भेन्टिलेटरमा २२२ जना सङ्क्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९७५ पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

संम्बन्धित समचार

Leave a Reply