काँग्रेसले ८ वटा जिल्लाको पार्टी क्रियाशील सदस्यता विवाद टुङ्ग्यायो

भाद्र ३०,काठमाडौँ । नेपाली काँग्रेसले ८ वटा जिल्लाको पार्टी क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको छ । नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले सर्वसम्मत रुपमा विवाद निरुपण गरेका हुन् ।

सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए । तर निर्वाचन समितिले ८ जिल्लाको सदस्यता नामावली बुझेको भने छैन । छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको छ ।

२० वटा जिल्लाको सदस्यता नामावली किस्ता किस्तामा नबुझ्ने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको अडान छ । २० वटै जिल्लाका सदस्यता नामावली चाँडो टुंग्याउन निर्वाचन समितिले ताकेता गरिरहेको छ । चौधरीका अनुसार आज बाँके, सुर्खेत र काठमाडौंको विवाद पनि निरुपण गर्ने तयारी छ ।

सिटौला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार सुर्खेतमा अखण्ड समानान्तरले १९९ क्रियाशील सदस्यता पाएको छ । तर उक्त मापदण्डअनुसार ३ वटा वडामा आफूनिकट मान्छे पराजित हुने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मान्न तयार छैन ।

पौडेल पक्षमा प्रतिनिधिहरुले बाँके र सुर्खेतमा सदस्यता लेनदेन गरी मिलाउन पौडेल पक्षको प्रस्ताव छ । तर देउवा पक्षले सबै जिल्लामा एउटै मापदण्ड लागू गर्नुपर्नेमा जाड दिएको छ । बाँकी ९ जिल्लामा पनि यस्तै विवाद छ । सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट र बारा गरी प्रदेश २ का ६ जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै छ । यस्तै बागमती प्रदेशको रसुवा, लुम्बिनी प्रदेशको कपिलवस्तु र कर्णाली प्रदेशको डोल्पामा पनि चर्को विवाद ।

यी तीनवटै जिल्लामा समायोजन सम्बन्धी विवाद छ । रसुवामा तत्कालीन नयाँ शक्ति, कपिलवस्तुमा संघीय फोरम र डोल्पामा राप्रपाबाट आएकाहरुको सम्बन्धमा क्रियाशील सदस्यता विवाद छ । २० जिल्लामा भदौ १८ मा वडा अधिवेशन नहुन नसकेपछि अधिवेशनको कार्यतालिका नै परिमार्जन गर्नुपरेको छ । यी २० जिल्लामा असोज ५ गत वडा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ ।

यस्तै पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते सारिएको छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि सारिएको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।

संम्बन्धित समचार

Leave a Reply