बागमती प्रदेश सभा बैठक: मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

असोज २४, काठमाडौं । बागमती प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक आज (आइतबार) बस्दैछ । अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् ।

नेकपा (एमाले) विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराएका थिए । शाक्यले असोज २५ गतेसम्म संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।

गत भदौ २ मा एमालेको एकल बहुमतबाट सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना देखिँदैन । १०९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार जोगाउन शाक्यलाई ५५ सांसद चाहिन्छ । तर‚ ५६ सांसदसहित बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यसँग हाल ४३ सांसद मात्रै छन् ।

एमालेले अन्य दलसँगको साझेदारीमा संसद्मा विश्वासको मत पाउने दाबी गरिरहेको छ । तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनको बागमती प्रदेशमा चार घटक छ ।

प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जनता सामाजवादी पार्टीका एक गरी विपक्षी गठबन्धनसँग ६० जना सांसद छन् । तर‚ ४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेको विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्‍याउन सक्दैन ।

संसद्मा विवेकशीलसँग तीन तथा राप्रपा र नेमकिपासँग दुई दुई सांसद छन् । ती सबैलाई जोड्दा एमालेसँग ५० मत मात्रै हुन्छ । जुन प्रदेश सरकार टिकाउनका लागि अपर्याप्त हो । त्यसैले नेपालकै पहिलो महिला मुख्यमन्त्रीको रुपमा सत्तारोहण गरेकी शाक्यको बहिर्गमन लगभग निश्चित छ ।

उता विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार विस्थापित गर्दै गठबन्धनको नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । विपक्षी गठबन्धनमा रहेको एकिकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा प्रदेश सरकार बनाउने विपक्षी गठबन्धनको तयारी छ । गठबन्धनमा हाल ६० जना सांसद छन् । सरकार बनाउन आवश्यक मत रहेको गठबन्धनले प्रदेश प्रमुखकोमा बहुमत पुर्‍याएर जाने बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply