साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी भोली आइपुग्ने

कातिक ४,काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट ट्रेडिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो ।

सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दशैँपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट ट्रेडिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट ट्रेडिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको बताए ।

उनले भने, ‘चिनीको मौज्दात कम हुने देखिएपछि सरकारलाई गत माघ महिनामा नै चिनी आयातका लागि अनुमति माग गरेका थियौं । तर, सरकारले हामीलाई चिनी आयात गर्ने अनुमति भदौ महिनाको अन्तिममा मात्र दिएको हुँदा चिनी आयातमा ढिला भएको हो ।

यदि सरकारले हामीले आयातको अनुमति माग गरेको समयमा नै चिनी आयात गर्न अनुमति दिएको भए उपभोक्ताले अहिले बजारबाट महँगो चिनी किनेर खानुपर्ने बाध्यता हुने थिएन । उनले भने, ‘पहिलो लटको चिनी बुधबार नेपाल आइपुग्छ । दोस्रोलट भने विजया दशमीसम्म आइपुग्नेछ ।

दसैंको केही दिन बिदा हुने हुँदा बीचमा दुई/चार दिन आउने छैन नत्र भने अब सरकारले साल्ट ट्रेडिङलाई आयात गर्न दिएको अनुमतिअनुसार चिनी निरन्तर आयात हुनेछ । विभागीय प्रमुख झाले भने, ‘अहिले हामीसँग धेरै मौज्दात नहुँदा हामीले थोक व्यापारीलाई बिक्री गरेका छौं । खुद्रामा मात्र बिक्री गरिरहेका छौं । २५ सय मेट्रिक टन आइपुग्दा थोक व्यापारीलाई पनि बिक्री गर्नेछौं । साल्ट ट्रेडिङको चिनी आएपछि बजारमा बढेको चिनीको मूल्य पनि घट्ने झाको भनाइ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply