नगर विकास कोष र अत्तरिया सह—लगानी खानेपानी आयोजनाबीच ऋण सम्झौता

असार १८, काठमाडौ । अत्तरिया सह—लगानी खानेपानी तथा सरसफाई आयोजना, कैलालीमा नगर विकास कोषको रु. २ करोड ६३ लाख ९७ हजार ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न

सह-लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को लागत रु.१३ करोड १९ लाख ८८ हजारको २०प्रतिशतले हुने रकम रु.२ करोड ६३ लाख ९७ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र अत्तरिया सह—लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशी बीच मिति २०७८ आषाढ १८ गते ऋण सम्झौता सम्पन्न भएको छ ।

अत्तरिया सह—लगानी खानेपानी तथा सरसफाई आयोजनामा नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २० प्रतिशत ऋण लगानी र १० प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिने प्रावधान रहेको छ । यस आयोजनाले गोदावरी नगरपालिकाका वडा नं. २ का ६७७८ जनसंख्यालाई २ वटा डिप बोरिङ्गको माध्यमबाट २४ सै घण्टा खानेपानी सेवा पुर्याउने लक्ष्य रहेको छ । कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना सुदुरपश्चिमकै नमुना योजना रहेको बताए ।

उनले स्थानीय तहलाई जुनसुकै हिसाबले बलियो बनाउन जरुरी रहेको बताउदै स्थानीय सरकारले कमाउन सक्ने र रोजगारी दिन सक्ने योजना अघि सार्नपर्ने धारणा राखेका थिए । उनले कैलालीको गोदावरी नगरपालिका ठुलो शहरको रूपमा बिकास भैरहेकोले अत्तरियामा खानेपानी योजनाले महत्त्वपूर्ण सहयोग पुर्याउने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले गोदावरी नगरपालिकामा झन्डै डेढ लाख जनसंख्या रहेको बताउदै नगरको बिकासमा सो खानेपानी आयोजनामा भएको थप सम्झौताले नगरबासी उत्साही भएको बताए । उनले आफुसङ्ग सुदुरपश्चिमकै ठुलो बसपार्क बनाउने योजना रहेको सुनाए । उनले नगर विकास कोषसंग ऋण लिएर लगानी गर्ने कार्ययोजना रहेको बताए ।

सम्झौतापछि उपभोक्ता समितिका अध्यक्ष जोशीले अत्तरिया सह-लगानी खानेपानी आयोजनाले झन्डै २७ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने दावी गरे । उनले आयोजनाको करिब ६० किमि पाइपलाइन रहेको बताउदै सेवाग्राही थप बढ्न सक्ने बताए । उनले कोषबाट लिइएको ऋणको ब्याज ७ प्रतिशतबाट ५ प्रतिशतमा झार्न सकिए अझै सुबिधा हुने बताए ।

संम्बन्धित समचार

Leave a Reply