साफ: नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन ।

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

श्रीलंका पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका पहिलो खेलमा पराजित भएको थियो । श्रीलंकाले बंगलादेशलाई खेल १-० ले सुम्पिएको थियो ।

साफ अन्तर्गत नै सोमबार हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

 

संम्बन्धित समचार

Leave a Comment