साफः श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

असोज १९, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो ।

खेलको ४६ औं मिनेटमा २५ यार्ड टाढाबाट अन्जनको फ्रिकिक श्रीलंकाका गोलकिपर तथा कप्तान सुजन परेराले डाइभ हान्दै मुश्किलले बचाए । ५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा श्रीलंकाका काभिन्दु इशानको प्रहार नेपालका डिफेन्डर सुमन अर्यालले गोललाइनबाट बचाए । तर, ह्यामिल्टनले ५७ औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २-१ को स्थितिमा ल्याए ।

खेलको ६७ औं मिनेटमा आयुसले गोलको अवसर खेर फालेका थिए । मनिष डाँगीको पासमा उनको प्रहार श्रीलंकाका गोलकिपर सुजनले बचाए । खेलको ७५ औं मिनेटमा अन्जनको क्रसमा अनमार्क रहेका आयुसको हेड प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ७७ औं मिनेटमा श्रीलंकाका डी सिल्भाको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाए ।

८६ औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो ।

त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३-२ को महत्वपूर्ण जित निकाल्यो ।

यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १(० ले पराजित भएको थियो ।

लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ । अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

संम्बन्धित समचार

Leave a Comment