मल कारखाना स्थापना गर्दै बाग्मती प्रदेश

माघ १८, हेटौंडा । बागमती प्रदेश सरकारले मल कारखाना स्थापना गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो ।

केही समयअघि प्रदेशको राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्र र चितवनको औद्योगिक क्षेत्रमा जग्गा खोजीसमेत गरेको थाइल्याण्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले सधैँ मलको हाहाकार हुने गरेको र मलकै कारण सरकार बदनाम हुँदै आएकाले प्रदेशमा सरकारले मल उत्पादन कारखाना स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको बताए ।

मन्त्री खनालले सो थाई कम्पनीले प्रदेश सरकारसँग नियमित रुपमा २ सय मेगावाट बिजुली उपलब्ध गराउनुपर्ने शर्त राखेको बताए । ‘उनीहरूको एउटा मात्रै माग बिजुलीको छ’, उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभइरहेको अवस्थामा हामीले विद्युत प्राधिकरणसँग सल्लाह गरेर मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापनाको पहल गर्ने निर्णय गरेका छौँ ।’

मन्त्री खनालले मल कारखाना कहाँ कसरी स्थापना गर्ने भन्ने विषयमा प्रदेश सरकारले विज्ञको टोलीसँग छलफल गर्ने पनि बताए ।

संम्बन्धित समचार

Leave a Comment