आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुने

फागुन ६, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आज (शुक्रबार)देखि सुरु हुने भएको छ । क्यालिब्रेसन फ्लाइट हुने भएकाले भैरहवा विमानस्थलको उडान शुक्रबार दिनभर ठप्प हुने जनाइएको छ ।

निर्माणको अन्तिम चरणमा भएको उक्त विमानस्थलको यान्त्रिक परीक्षणका लागि थाइल्याण्डको एरो थाईले उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने जनाइएको छ । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको प्राधिकरणले जनाएको छ । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो ।

प्राधिकरणले यात्रुलाई सहज बनाउन विहान र बेलुकी उडानको समय दिएको छ भने शनिबार क्यालिब्रेसन फ्लाइट नहुने भएकाले उक्त दिन पुरानै तालिकामा उडान हुने जनाएको छ । जडित यन्त्र परीक्षणको समयतालिकामा अवरोध हुने भएपछि साढे पाँच घण्टा उडान रोकेको प्राधिकरणले जनाएको छ । नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये पूर्णरुपमा यान्त्रिक हिसावले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नै पहिलो रहेको प्राधिकरणले जनाएको छ ।

फागुन १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ भने त्यसपछिको रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडानका सुरु हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुनेछ ।

संम्बन्धित समचार

Leave a Comment