हेलम्बुमा काँग्रेस र एमालेका कार्यकर्ताबिच कुटाकुट

बैशाख २९, काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थीत कार्यकर्ता बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले बताए ।

कुटपिटमा एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएका छन् ।कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु–३ घर भएका छिरिङ दोङ भन्ने प्रेमसिंह पाख्रिन, आईतमान तामाङ र मनजित तामाङ छन् ।

खेन्जो तामाङको घरमा ढुंगा हानेको विषयमा विवाद हुँदा झडपको स्थिती आएको थियो । घाइतेहरुको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

उम्मेदवार श्रेष्ठको टाउको, दाहिने आँखा, दाँत लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । यस्तै झडपमा अन्य २० बढी घाइते भएको प्रहरीको भनाइ छ ।

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा गरिरहेको अवस्थामा झडप भएको हो । चुनावी प्रचारमा लागेका दुई पार्टीका कार्यकर्ताबीच जम्काभेट हुँदा झडप भएको प्रहरीको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply