नवौं राष्ट्रिय खेलकुदः म्याग्दीमा खेलमैदान तयार

असोज १८, म्याग्दी । म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ ।

जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ । समितिका अध्यक्ष दिनेश केसीले भलिबल सञ्चालन हुने बेनीको खुल्लामञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रङरोगन गरिएको जानकारी दिए ।

‘खेलमैदानको ढुङ्गासहितको माटो खनेर फालेर बाहिरबाट माटो ल्याएर हाली रोलरले फेलेर सम्माएका छौँ’,उनले भने, ‘बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रङ लगाउने काम सकिएको छ ।’

राखेपले पठाएको पाँच लाख बजेटबाट खुल्लामञ्चमा खेलमैदान तयार पारिएको हो । तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुलको कबर्डहलमा पङ्खा, बत्ती जडान, शौचालय, सयनकक्ष मर्मत, रङरोगन र भवन अगाडि ढलान गरिएको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताए ।

बेनी नगरपालिकाले विनियोजन गरेको तीन लाख बजेटबाट तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुल कबर्डहलको मर्मत गरिएको हो। प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउँदैछन् ।

होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाकार्यालयले अतिथि सत्कार, सरसफाइ, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply