मेलम्चीको पानी सुरुङमा पठाइयो, वैशाख पहिलो हप्तादेखि वितरण

चैत्र २९,काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरु गरिएको छ । टनेल सफा गर्ने काम सकिएपछि आज मङ्गलवार बिहान ११ बजेर ५५ मिनेटमा सुरुङमा पानी पुनः पथान्तरण गरिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गर्नुभएको हो । दुई सय ६५ लिटर प्रतिसेकेन्डका दरले मुख्य सुरुङभित्र पानी पठाइएको आयोजनाले जनाएको छ ।

गएको असार १ गतेको बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । मुख्य मुहानमा क्षतिसँगै मेलम्चीको पानी फेरि काठमाण्डौ ल्याउन सकिन्छ कि सकिँदैन भन्ने अन्योल थियो । तर अब सुरुङमा पानी भर्न सुरु भएसँगै मेलम्चीको पानी काठमाण्डौ आउने भएको छ । चैतसम्ममा काठमाण्डौवासीलाई पानी खुवाउने भनिए पनि केही ढिलो भएको समितिले जनाएको छ ।

टनेलभित्र लेदो भेटिँदा सफा गर्न समय लागेकोले वैशाखको दोस्रो हप्तादेखि मात्रै काठमाण्डौवासीले पानी खान पाउने समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताएका छन् ।

गएको वर्ष चैत १७ गतेदेखि काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर काठमाण्डौ १७ करोड लिटर पानी वितरण थालिएको थियो । परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चिको पानी वितरण प्रक्रिया रोकिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply