उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि चर्को घाम, गर्मि बढ्यो

बैशाख २४,काठमाडौँ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज पनि बिहानैदेखि घाम चर्किएको छ । पश्चिमी वायु कमजोर बनेसँगै घाम चर्किन थालेको मौसमविद् संजिव अधिकारीले बताए । पानी पर्न रोकिएर घाम चर्किन थालेसँगै गर्मी बढ्न थालेको छ ।

अघिल्लो हप्ता लगातार मौसम बदली भइ पानी पर्दा अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेको थियो । तर, हिजो अस्तिदेखि फेरि तापक्रम बढ्न थालेको छ । तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस भन्दा धेरै छ। काठमाण्डौमा हिजो अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेको थियो । आज पनि २८ देखि ३० डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाण्डौमा न्यूनतम तापक्रम पनि खासै घटेको छैन । बिहानको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । पानी पर्नु भन्दा अगाडि वैशाख पहिलो हप्ता काठमाण्डौको अधिकतम तापक्रम २९ देखि ३० डिग्री सेल्सियस थियो ।

तर, पानी पर्न थालेपछि अघिल्लो हप्ता काठमाण्डौको अधिकतम तापक्रम २१ डिग्री सेल्सियसमा झरेको थियो ।

यस्तै, तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० देखि ४१ डिग्री सेल्सियससम्म पुगेकोमा पानी पर्न थालेपछि ३४ देखि ३५ डिग्री सेल्सियसमा झरेको थियो ।

धेरै ठाउँमा तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रका एक दुई ठाउँमा भने स्थानीय वायुको प्रभावले बेलुकीपख हल्का पानी पर्न सक्ने मौसमविद्को भनाइ छ ।

संम्बन्धित समचार

Leave a Comment