पत्रकार महासंघले भन्यो-‘केही सञ्चार गृहले पत्रकारलाई पारिश्रमिक दिएनन्’

चैत्र २८, काठमाडौं । नेपाल पत्रकार महासंघको अनुगमनमा कोरोना भाइरसको उच्च जोखिममा काम गरिरहेका सञ्चारकर्मीहरुलाई केही सञ्चार गृहले पारिश्रमिक नदिएको खुलेको छ । महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा भएको अनुगमनका क्रममा लकडाउनको समयमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुले सञ्चार गृहबाट सहजै पारिश्रमिक पाएको अवस्था नदेखिएको महासंघले जनाएको छ ।
शुक्रबार अनुगमनबारे विज्ञप्ति प्रकाशित गर्दै महासंघले बिगतका महिनाको बाँकी पारिश्रमिकसमेत प्राप्त गर्न नसक्दा श्रमजीवी पत्रकारहरुले आर्थिक अभाव झेलेर काममा खटिएको दुःखद अवस्था अनुगमनका क्रममा देखिएको उल्लेख छ । महासंघले यस्तो समस्या भएका सञ्चार गृहको नाम भने उल्लेख गरेको छैन ।

महासंघले श्रमजीवी पत्रकार ऐनले तोकेको अवधिभन्दा बढी काम गर्नुपर्ने अवस्था रहेको र अतिरिक्त कामको पारिश्रमिकसमेत उपलब्ध गराएको नपाइएको प्रतिवेदनमा उल्लेख गरेको छ । सञ्चारकर्मीहरुको लागि सञ्चार गृहहरुले गरिएको पूर्वसर्तकता समेत सन्तोषजनक नभएको, विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामरा पर्सनहरु बढी जोखिममा रहेको, कार्यालयमा पनि आवश्यक दूरी कायम नगरिएको र कतिपय सञ्चारमाध्यमहरुमा मास्क, स्यानिटाइजर र पन्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध नगरिएको महासंघले उल्लेख गरेको छ ।

लकडाउनको समयमा पनि देशका विभिन्न स्थानमा विभिन्न व्यक्ति र निकायबाट पत्रकारमाथि कुटपिट, धम्की, दुर्व्यवहार र काममा अवरोधका घटनाहरु घटेको उल्लेख गर्दै महासंघले राज्यपक्ष, राजनीतिक दल र अन्य पक्षबाट ६ वटा प्रेस स्वतन्त्रता विरोधी घटना भएको उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply