‘वैशाखभित्रै माथिल्लो तामाकोसीको विद्युत् उत्पादन हुन्छ’: उर्जा सचिव

वैशाख ५ काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाखभित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराएका हुन् ।

उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीब्र पारिएको बताए । उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैसाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’ उनका अनुसार जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थपिँदै लगिने छ । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोसीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए ।

उनले भने, ‘हामी वैशाख भित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौं ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरु गर्ने योजना रहेपनि वैशाख ३१ गतै नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए ।

वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेपनि एकरदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको उनले बताए । उनले भने, ‘वैशाख २० गते पहिलो मेसिन घुमाउँछौं । त्यसमा पनि सबै कुराले साथ दियो भने एकरदुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन सुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो ।’

आयोजनाको काममा ढिलाइ भएको भन्ने भएपछि आफू एकरदुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै शाक्यले अहिलेकै गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने बताए । साउन मसान्तसम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उनको भनाइ थियो ।

संम्बन्धित समचार

Leave a Reply